कभर स्टोरी

परिवार

मेरो परिवार मेरो कथा

रोनाल्डो शिक्षाका लागि बर्दियामा यसरी धान संकलन गरिरहेका छन्

मङ्गलबार, १२ पुष २०७३ गते मा प्रकाशित

Nepalaaja-Bardiya-Ronaldo-Football-Education


उनी संयुक्त परिवारमा जन्मेहुर्के । हजुरवुवाका दाजुभाइ र तिनका शाखा सन्तान गरी ६७ जनाको परिवार थियो । एकै खेपमा खाना पकाउन र खान सम्भव थिएन । पकाउने र खानेको पालो लाग्थ्यो । केटाकेटीका लागि पालोले रोक्ने थिएन । घरमै हुलका हुल केटाकेटी भएकाले चकचक गर्नका लागि पराइ कोही चाहिने थिएन । बुबाका तीन श्रीमती । तीन आमापट्टीबाट जन्मेका सात भाइ र चार दिदीबहिनी मध्ये मोहन चौधरी कान्छो थिए । उनी जन्मदा पंचायत व्यवस्थाले एक दशक पार गरेको थियो । बुबा राजाले चिनेका राजापुर क्षेत्र बदालपुरका नामी समाजसेवी थिए । मोहन बाल्यकाल सम्झदै भन्छन् ‘बाल्यकाल स्वतन्त्र हिसावले बित्यो । त्यति स्वतन्त्रता त बहुत कमले गरेका होलान् ।’ ०३६ को उखरमाउलो राजनीतिक समय थियो । मोहन ४ कक्षा पढ्थे । काठमाडौंस्थित बुढानिलकण्ठ विद्यालयले लिने प्रवेश परीक्षामा उनी पास भए । काठमाडौं जाने तयार थाले । जाडो खुब हुन्छ भन्ने सुनेका मोहनले उनीका कपडा किने । तर, अन्तिममा उनलाई विद्यालयले नलिने भयो । बुबा शालिकराम चौधरी स्वास्थ्य राज्यमन्त्री भएकाले पहुँचवालाको छोरो भनेर भर्ना दिइएन । ‘बुबाले चाहेको भए भर्ना हुन पनि सक्थ्यो । तर, उहाँले त्यता ध्यान दिनुभएन । मेरो छोराले जहाँ पनि पढ्ला, गरीवले पढोस् भन्ने चाहना हुन सक्थ्यो बुबाको ।’ मोहनले सो प्रसंग सम्झदै भने, ‘तर बुबको विश्वास मबाट पूरा हुने देखिएन । म एक नम्बरको बंकर (बिद्यालय हाप्ने) निस्कें।’ घरमा घोडा थिए । घोडचढी गर्ने । टालाटुली पोको पारेर बल बनाउने र समुह बनाएर म्याच गर्ने । विद्यालय जान्छु भनेर अन्तै जाने । उनी मुस्किलले विद्यालय जान्थे । दिइएको गृहकार्य सायदै आफैले कहिल्यै गरे । कमैयाको छोरा पढ्नमा तेज थियो । उसैलाई गृहकार्य गर्न दिन्थे । गृहकार्य गरिदिएवापत खानेकुरा बाँडेर खान्थे । ‘म नेपाली भाषा बुझ्दिनथे । गाउँघरमा सबै थारु बोल्थे । पढाइ भने नेपालीमा हुन्थ्यो । अझ संस्कृत पढाइ हुन्थ्यो । अति गाह्रो लाग्ने । पढ्नै मन लाग्दैनथ्यो । बरु नपढे आनन्द भन्ने लाग्थ्यो ।’ बंकर हुनुको व्यथा सम्झदै मोहनले भने, ‘बल्लतल्ल स्कुल गयो मन नलागि नलागि, रामधुलाइ शुरु भइहाल्थ्यो ।’ कक्षा ६ मा पढ्दै गर्दा अनकन्टार बदालपुरमा एउटा हब्सी र ३ जना खैरे आए । कोठियाघाटमा पूल थिएन । भारतको भूमी हुँदै उनीहरु बदालपुर पुगेका थिए । रुखजस्ता अग्ला मान्छे देखेपछि गाउँभरिका मान्छे मोहनको विद्यालयमा खनिए । विद्यालय जानै मन नगर्ने मोहन हुर्रिएर विद्यालय पुगे । वरिवरि मानिस घेरिएका थिए । चकचके मोहनलाई केले छेक्ने उनी मान्छेको खुट्टा मुनी मुनीबाट उनीहरु भए छेउ पुगे । ती पर्यटकले उनलाई रंगिन किताव दिए । मोहनले जीबनमा मोहनी लगाउने किताव पहिलो पटक देखेका थिए । खुब नियालेर हेरे । उनलाई मनमनै खैरेलाई अंग्रेजीमा धन्यवाद दिन खोजे । भनेपनि । तर, के भने उनी आफैँ प्रष्ट थिएनन् । मोहनलाई अंग्रेजी बोल्ने भोक थियो । खैरेहरुले किताव दिएपछि भोक महाभोकमा परिणत भयो । उनी मनमनै अंग्रेजीमा कुरा गर्थे । अंग्रेजी बोल्ने उनीसँग कोही थिएन । मनमनै अंग्रेजी बोल्दा बिग्रे बनेको मतलब हुँदैनथ्यो । हुने खाने परिवार भएकाले उनले जसोतसो एसएलसी पास गरे । कहिल्यै फेल भएनन् । तर, कक्षामा सधैँ प्रथम हुने कमैयाको छोराले बीचमै पढाइ छोड्यो । उनको मनमा सधैँ कुरा खेल्न थाल्यो ‘म नपढ्ने भएपनि पढ्दै गए । उ पढ्ने भएपनि पढ्न पाएन । किन ?’ इन्टर पढ्न नेपालगंज गएँ महेन्द्र बहुमुखी क्याम्पस । नवराज अधिकारी (ककौरा) र बिरेन्द्रबहादुर बुढा क्षेत्री (बकौटिया)का साथी सँग उनको गजबको दस्ती जम्यो । उनीहरुको लगाव पढ्नमा थियो । मोहन भने फुटवल खेल्न दिनभर हराउँथे । परीक्षाको अघिल्लो दिनपनि उनी खेल्नमै मस्त रहन्थे । सरकारी जागिर नखाने, अन्तरजातिय विवाह गर्ने, स्वजातिय विवाह गर्नै परे फरक ठाउँको गर्ने । उनको प्रतीज्ञा थियो । यसै बीच उनले प्रकृति संरक्षण कोषमा अकाउन्ट एसिस्टेन्टको जागिर खान थाले । त्यही बेला विश्वकप १९९८ चलिरहेको थियो । हिट थिए ब्राजिलिएन स्ट्राइकर रोनाल्डो । थारु बस्ती बाक्लो रहेको ठाकुरद्वारामा मोहनले रमिता गर्न थाले । अनुहार रोनाल्डोको जस्तै देखिने मोहनले कपालपनि रोनाल्डोको जस्तै गरी जुरो पारेर काटे । रोनाल्डोकै जर्सी र कट्टु लगाउन थाले । मौका मिल्यो कि स्थानीय युवा जम्मा गरेर फुटबल खेल्न थाले । उनी सो क्षेत्रमा रोनाल्डो नामले कहलिए । युवा पुस्ताका रोनाल्डो दादा (थारु भाषामा दाइ) बने उनी । आठ बर्ष जागिर गरे । त्यही बेला विवाह गरे दाङकी बिनितासँग । निकुञ्ज वरिपरि जंगल कटेज, कर्णाली सफारी, फरेष्ट हाइडवे, टाइगर टप्स, एलिफेन्ट क्याम्प, राइनो एक्सप्रेस, बर्दिया वाइल्ड लाइफ प्याराडाइजलगायतका होटेल र रेष्टुरेन्ट थिए । ‘झुप्रा हाम्रै घरका जस्ता तर मेनु हे-यो पैसा धेरै । म घोत्लिन थालेँ । अलिअलि अंग्रेजी बोल्ने र यसरी दिने भएपछि त पैसा आइहाल्दो रहेछ । मैले जागिर खाने अफिसको ड्राइभरले चलाएको राइनो एक्सप्रेस बिक्री हुने भयो ।’ पर्यटन व्यवसायमा प्रवेश गर्दाको क्षण सम्झदै मोहनले भने । लिजमा चलेको राइनो एक्सप्रेस ०५५ सालमा एक लाख विस हजारमा किने । होटेल राम्रै चलिरहेको थियो । बुबा राजनीतिज्ञ भएपनि उनलाई राजनीतिप्रति खाशै चासो थिएन । राजाले नेतृत्व गरेको प्रकृति संरक्षण कोषको कर्मचारी तथा पढेलेखेको थारुको नाताले उनी जोखिममा परे । माओवादी युद्धको राप र तापले थलिएका मोहन भन्छन्, ‘पञ्चेको छोरो राजाको अफिसमा काम गर्ने भनेर माओवादीले टार्गेट गर्ने । पढेलेखेको थारु भनेर राज्य पक्ष संशकित हुने । संकटकालमा सेनाका लागि तास खेल्दिन पर्ने । उनीहरुले बोलाउने, थर्काउने र राति राति घर जान भन्ने । केटाहरुलाई भन्दिया छ भन्ने । मार्न भनेको छ कि छोड्न भनेको छ कि केही नभन्ने । यता राति राति माओवादी आउने, खाना खुवाउँन भन्ने । पर्चा छाड्ने । विनिता रुने । मैले परिवारलाई घर पठाइदिएँ । होटेल बन्द गरिदिएँ । अफिसमा बस्न थालेँ । सेना र प्रहरीले राति राति तास खेल्न बोलाउने । ज्यान नै जोखिममा प¥यो ।’ मोहनले कोषको हुँदा खादाको जागिर छाडे । जुलाइ २००३ बाट राधाकृष्ण थारु जनसेवा केन्द्रमा एक्सन एडले फण्डिङ गरेको फ्रिड कमैया रिहाबिलिटेसन प्रोगाममा काम गर्न थाले । उनले मान्छे हुनुको अर्थ खोज्थे । ‘जागिर खायो, पैसा कमायो तर गुमनाम भयो । यसरी कहाँ हुन्छ ?’ उनको मन भुटभुटिन थाल्यो । मुक्त कमैयाका २ जना छोरालाई उनले आफ्नै खर्चमा पढाइरहेका थिए । तलब धेरै थिएन । तरपनि मन हुँदा धनले छेकेन । शिक्षाका लागि धान र गहुँ भन्ने मनमा खेल्यो । कृषिको तथ्यांक हेर्दा राजापुरका एघार गाविसबाट मात्रै बार्षिक ८० लाख उठ्ने देखियो । चौधरी, बडघर, चौकिदार, गुरुवालाई उठाइएकै हुन्थ्यो । शिक्षाका लागि पनि उठाउन सकियो भने त भन्ने भइरह्यो । त्यसपछि उनी सेभ द चिल्ड्रेनमा जागिरे भए । क्षेत्रिय संयोजकका रुपमा उनको बढुवा भयो । सम्भावनापनि थियो । तर, उनले जागिर छाडिदिए । ‘जगिर गर्दा समयको चापाचाप हुन्छ । स्वतन्त्रता गुम्छ । मैले स्वतन्त्र हुन जागिर छाडेँ ।’ जागिर छाडेपछि थारु होम रिसोर्ट खोलेका मोहन भन्छन्, ‘आफ्नो व्यवसाय हुँदा आफु अनुकुलको समय निकाल्न पाइन्छ ।’ पछिल्लो समय उनी राजनीतिमा पनि छन् । पर्यटन व्यवसायीहरुको छाता संगठन पर्या पर्यटन विकास मञ्च ठाकुरद्वाराको अध्यक्ष पनि छन् । र, सँगै एउटा अभियानमा पनि छन् । उनी अहिले धान संकलनमा व्यस्त छन् । थारु समुदायमा चौकिदार, गुरुवा आदिका लागि बर्षेनि खाद्यान्न उठाइन्छ । उनी यसैगरी शिक्षाका लागि अन्न संकलन गर्ने अभियानमा छन् । ‘म भगौडा विद्यार्थी पहुँच र थोरबहुत पैसा भएकाले यहाँसम्म आइपुगेँ । पैसा नभएका तर तेज दिमाग भएको त्यो मेरो फष्ट साथी कहाँ छ कहाँ । यहाँ बडे बडे बिद्धानहरुको बिद्धता बाल्यकालमै मरेको छ । म कोही पनि पैसा नभएका कारणले शिक्षाबाट बञ्चित नहोस् भन्ने अभियानमा छु ।’ उनले शैक्षिक अक्षय कोष किन भन्ने प्रष्टाउँछन् । ठाकुरद्वारा पुग्ने जोकोहीलाई उनी आफ्नो अभियानका बारेमा कर गरी गरी सुनाउँछन् । काठमाडौंबाट बर्दिया भ्रमणमा पुगेको पत्रकारको समुहलाई पनि उनले आफ्नो अभियानका बारेमा सुनाए, ‘मैले हिसाव किताव गरेरै यो अभियान शुरु गरेको छु । राजापुर क्षेत्रका एघार गाविसबाट मात्र बर्षको झण्डै १ करोड उठ्छ । थारुहरुको बाक्लो उपस्थिति रहेको पाँच जिल्लाभरि यो अभियान पु¥याउन सके करोडौँ उठ्छ । यसमा गैर थारुलाई जोड्न सकिन्छ । त्यसो गर्दा हजारौँ युवा निष्फिक्रि पढ्न सक्छन् । यो पवित्र अभियान हो ।’ एकै दिन १८ क्विन्टल धान संकलन गरेका मोहन उत्साहित छन् । उनी भन्छन् ‘प्रारम्भ नै प्रभावकारी देखिएको छ । यो अभियानले मेरो हैन हाम्रो सन्तान भन्ने भावना अभिभावकमा वृद्धि गर्छ । पैसा नभएकाले पढ्न पाइदैन भन्ने भाव विद्यार्थीबाट हटाउँछ ।’ पत्रकार जनक पौडेलले आर्थिक पारदर्शिता र छात्रवृत्तिको मोडलका बारेमा प्रश्न गरे । जवाफ सुनेपछि उनले थप प्रश्न गरेनन् । खल्ती छामे । अभियानका लागि दुई हजार रुपैयाँ सहयोग गरे ।
प्रस्तुतिः नारायण पौडेल