‘हुनुपर्छ चमेली सबैलाई बराबर’ तर कहिल्यै भएन

‘गाई त बाँध्यौं, ढुङ्ग्रोमा मोही छैन, मोही छैन ।

गरिबको चमेली बोल्दिने कोही छैन ।
गरिबको चमेली बोल्दिने कोही छैन ।’

वि.स २०२७ सालमा गायक रामेश श्रेष्ठले गाएको यो गीत अहिलेसम्म पनि चर्चित छ । गरिबजनको व्यथालाई अजम्बरी ढंगले टिपेको यो गीत रामेश र मञ्जुलले लेखेका हुन् ।

सामन्ति सत्ताको विरोधमा नयाँ सोच र संस्कृतिको विकास गर्ने भन्दै जुझारु युवाले गठन गरेको सांगीतिक समूह राल्फाले संगीतमार्फत समाजलाई जुरुक्क बनाएको बेला थियो त्यो । राल्फा समूहले विद्यालय, कलेज जस्ता क्षेत्रमा सांगीतिक कार्यक्रम गर्दथ्यो ।

susila-yogi-ramesh-manjul

शुरुमा काठमाडौँमा केन्द्रीत सो समुह विस्तारै दूरदराजतर्फ हानियो । गाऊँवस्ती चहार्दै जाँदा सो समुहले गरिबका व्यथालाई जस्ताकै तस्तै बुझ्न पायो । काठमाडौं, धुलिखेल, मन्थली, ओखलढुंगा, भोजपुर हुँदै गरिएको राल्फाली यात्राका हस्ती थिए रामेश र मञ्जुल । उनीहरुले तयार पारेको यो गीत ५० बर्षपछि पनि उस्तै प्रचण्ड छ ।

‘रातो भाले धुरीमा करायो करायो
गरिबको चमेली निद सुखै हरायो ।
धनीलाई धन माथि धनै छ, धनै छ
गरिबलाई चमेली ऋणमाथि ऋणै छ ।’

राल्फाली समूहले यो गीत गाउँदा वस्तीमा भिन्दै भाव पैदा हुन्थ्यो । कसैका आँखा रसाउँथे त कसैका जिऊमा काँडा उम्रन्थे । यही गीत पछि चलचिल वलिदानमा राखियो । त्यसपछि त यो गीतको व्यापकता झनै बढ्यो । चलचित्रको पर्दा हुँदै टेलिभिजनका पर्दा र पछिल्लो समय कम्पुटरको पर्दामा यो गीत नहेर्ने सायदै कोही होला ।

साझा र सरल भाषाको यो गीत नेपाली समाजको ऐना बनेको छ । यस्तो ऐना जुन ५० बर्ष वितिसक्दा पनि उस्तै प्रष्ट छ । रोमश र मञ्जुलले यो गीत तयार पारेको र गाएको पनि ५० बर्ष वितिसकेको छ । पञ्चायत निर्मुल भयो, बहुदलीय व्यवस्थाको अभ्यास भयो, राजतन्त्र फालियो र गणतन्त्र ल्याइयो, तर गरिबको व्यथामा परिवर्तन आएन । पात्र फेरिए तर प्रवृत्ति फेरिएन ।

कालिकोटकी १४ महिने सुशीला योगी खान नपाएर कुपोषणका कारण मरिन् । रोल्पाकी सुनकुमारी आफ्नै लोग्नेको कुटाइबाट घाइते भइन् र समयमा उपचार नपाउँदा इहलिला त्याग्न विवश भइन् । सुनसरीका २५ बर्षिय अनुज विश्वासले अस्पतालको फि तिर्न नसकेपछि विराट नर्सिङ होमको छतबाट हामफालेर देहत्याग गरे । यता कक्षा ११ मा पढ्ने १८ वर्षका विजय खड्काले शिक्षण अस्पतालको भवनबाट हाम फालेर आत्महत्या गरे ।

उनले आत्महत्या गर्नुपछाडिको कारण खोतल्दै जाँदा थाहा भयो – उनलाई रोगले भन्दा पहिले गरिबले खोसेर लगेको रहेछ । उपचारका लागि भएको जाय जेथा सकिएको थियो । उपचार बाँकी थियो । पढ्न नजान्ने आमाको हातमा सुसाइड नोट थमाएर उनी राति तीन बजे तीन तल्लाबाट हाम्फाले । डाक्टरको पुर्जा भनेर बिरामी छोराले थमाएको त्यो कागज सुसाइड नोट भन्ने आमाले छोराको निधन पछि मात्रै थाहा पाइन् ।

यिनै खबरका बीचमा काँग्रेस नेतृ सुजता कोइरालाले प्रारम्भिक किस्तावापत ५० लाख उपचार खर्चस्वरुप सरकारबाट लिएकी छिन् । विधि र प्रक्रिया मिचेर दिइएको सो रकमले राल्फाको उही गीतलाई सम्झाउँछ ।

‘धन हुनेलाई छँदै छ चैन, चैन
गरिबलाई चमेली लाग्दछ ऐन ।
दुधैकुण्ड पानीको सराबर सराबर
हुनुपर्छ चमेली सबैलाई बराबर ।’

यही गीत गाएर परिवर्तनका लागि केपी ओलीसँगै राजनीतिमा लागेका डीगेन्द्रले पार्टी कार्यालयमा आत्महत्या गरे । काँग्रेसको के कुरा गर्नु, उसका लागि यो गीत कहिल्यै प्रिय रहेन ।

कुनै बेला यही गीतलाई माध्यम बनाएर संसदीय व्यवस्थाका बिरुद्ध विष बमन गर्ने प्रचण्ड देशको प्रधानमन्त्री छन् । उनै प्रचण्डको हस्ताक्षरमा करोडपतिहरुले उपचार खर्चवापत बेहिसाव सरकारी ढुकुटीमा खेलिरहेका छन् । यता सुशीलाहरु खान नपाइ मरिरहेका छन् । हे ! दैब । गरिबको चमेली सुनिदिने कोही छैन ।

प्रस्तुतिः कञ्चन न्यौपाने

फेसबुक प्रतिक्रिया