मेरो परिवार मेरो कथा

विवाहमा पृथक प्रतिवद्धता ‘सहिद हुन तयार छौँ, गद्धारी गर्ने छैनौँ’

बिहिबार, ०४ कार्तिक २०७३ गते प्रकाशित
- नेपाल आज (MG)

विवाहमा पृथक प्रतिवद्धता ‘सहिद हुन तयार छौँ, गद्धारी गर्ने छैनौँ’

kanchan-khanal-03-nepalaaja
(माओवादी युद्धमा थुप्रै महिलाले योगदान गरे । युद्धकालमा उनीहरु नेतृत्वमा स्थापित पनि भए । तर शान्ति प्रक्रियामा आएको १० बर्ष नपुग्दै माओवादीले मन्त्री बन्न लायक नेतृ भेटेन । आखिर किन ? नेतृको खोजी श्रृखंला अन्र्तगत हामीले कञ्चन खनालको कथा समेटेका हौँ । यसअघि उनको राजनीतिक जीबनको फक्रदो अध्यायलाई हामीले भाग एकमा समेटेका थियौँ ।) विद्यार्थी राजनीति सँगै प्राविधिक फाँटको जिम्मेवारीमा रहेकी कञ्चनले युद्धको राप र ताप संकटकालमा थप महशुस गरिन् । पटकपटक कारावास र हिरासतको अनुभव सँगालेकी उनका लागि युद्ध नयाँ थिएन । तर, वैवाहिक जीबनपछिको युद्ध नयाँ थियो । विवाह भएको आठ दिनमै शान्ति प्रक्रिया भङ्ग भइ युद्धमा सामेल हुँदाको अनुभव भावनात्मक रुपमा फरक थियो, भलै दर्शन र वर्गिय चेतना झन फराकिलो भएको होस् । स्याङजा आक्रमण पछि सेनाले पोखरा आसपासका क्षेत्रमा धरपकड व्यापक बनाएको थियो । नेता देवेन्द्र पौडेल पार्टी निर्णय बिनै कार्यक्षेत्र छाडेर सुरक्षित स्थानमा लागेका थिए । फिल्ड कमाण्डर कान्छाबहादुर (देब गुरुङ) र माओवादी युद्धलाई प्राविधिकरुपमा चुस्त बनाउने एक माष्टर माइन्ड कान्छा (प्रेम नगरकोटी) को खोजीमा सेनाले पूरै शक्ति लगाएको थियो । उनीहरुसँगै रहेकी कञ्चनका लागि नेता देब गुरुङ र श्रीमान प्रेमको जीबन आफ्नो भन्दा बढी प्रिय थियो । देब गुरुङ र प्रेमको सुरक्षित सेल्टरका लागि कञ्चन पहिले आफु पुग्थिन् र अवस्थाका बारेमा बुझेर खबर गर्थिन । त्यसो त उनी आफैँपनि सेनाको खोजिमा रहेकी जिल्लाकी नेतृ थिइन् । तर, नेतृत्व तहमा रहेका देब र प्राविधिक हिसावले पोक्त प्रेम जोगाउनु पार्टी र वर्ग हितमा रहेको उनले अनुभव गरेकी थिइन् । सेनासँग लुकामारी गर्दै कञ्चन र प्रेमले देब गुरुङलाई कास्की, पर्वत, स्याङ्जा, तनहु, चितवन हुँदै प्रवास पार्टीको सम्र्पकमा पु¥याए । कञ्चन भन्छिन्, ‘नेतृत्व जोगाउनु आफुलाई जोगाउनुभन्दा कठीन हुन्थ्यो । नेताहरुको जीबन आफ्नो जीबन भन्दा प्रिय थियो । देब दाइ र हामी एकै चिहान हुनबाट थोरैले पटक पटक बचेका हौँ । उहाँलाई सुरक्षित ठाऊँमा पुर्याएपछि युद्ध जितेको अनुभव भयो ।’ देब गुरुङ प्रवास हानिएपछि कञ्चन र प्रेम दुबैको कार्यक्षेत्र फरक भयो । प्रेम सैन्य व्यूरो अन्र्तगतको जिम्मेवारीसहित रोल्पा लागे, कञ्चन जिल्ला सेक्रेटरीका रुपमा पर्वतमा खटिइन् । उनीभन्दा माथिल्लो नेतृत्वमा थिइन् देब गुरुङपत्नी यशोधा सुवेदी । पर्वतमा कञ्चनले मुख्यगरी उराम पोखरामा सेल्टर लिइन् । जनतासँग सहज सहकार्य गर्न सक्ने उनको विशेष क्षमता थियो । सानै उमेर, सरल व्यवहार, मिठो बचन र सहयोगी भावका कारण उनी उराम पोखरामा सम्झना बहिनीका रुपमा चिनिइन् । बाहिर उनी हसिलो देखिएपनि भित्रभित्रै उनी थला परेकी थिइन् । एकतिर शारिरीक अवस्था भिन्दै थियो भने अर्कोतर्फ उनलाई हनहनी ज्वरो आउने समस्या । १०७ डिग्रीको ज्वरो लुकाएर पार्टी काममा तल्लिन रहेकी उनी इलाका कमिटीको बैठकमा उनी असहज देखिइन् । उनको अवस्थाका बारेमा थाहा पाएपछि बैठक उनकै बारेमा केन्द्रीत भयो । स्थानीय नेता जयनारायण तिवारीप्रति उनी सदैव ऋणी छिन् । ‘म जग्गा बेचेरपनि उपचार गराउँछु । आजै गइहाल्नु भनेर उहाँले अभिभावकत्व देखाउनु भयो । उहाँसहितका साथीहरुले जोडबल नगरेको भए म नबाच्ने रहेछु ।’ कञ्चनको गला अवरुद्ध भयो । कञ्चनलाई उरामपोखराको फेदीमा रहेको हातेमालो चोकस्थित आले मेडिकल हलमा लगियो । सम्झना (पार्टी नाम) बिरामी परेको कुरा स्थानीयले थाहा पाइहाले । आले दाइले एकै छिन चेकजाँच गरेपछि लामो सास तान्दै रिपोर्ट सुनाए, ‘उहाँको अवस्था नाजुक छ । मैले केही गर्न सक्दिन । कुस्मा, पुतलीबजार कहीपनि सम्भव छैन । जतिसक्दो चाँडो पोखरा लग्नुहोस् ।’ कञ्चनलाई पोखरा लैजान सम्भव थिएन । पोखरामा ‘कालो कोठी भएकी केटी’ पटक पटक फुत्की भनेर सेनाले खोजी तिब्र बनाएको थियो । इन्तु न चिन्तु परेका कमरेडहरुको मुहार मलिन देखिन थाल्यो । स्थानीय दिदीबहिनीका आँखा रसाउन थाले । अन्तिममा पाल्पाको मिसन अस्पतालमा लैजाने निष्कर्षमा पुगियो । स्याङ्जाको बाँयाटारीसम्म स्थानीयले बोकेर पुर्याए । स्थानीय एक दिदीले छोरी अनितालाई कञ्चनको रेखदेखका लागि सँगै पठाइन् । ‘प्रवेश दाइ पार्टीको जिम्मेवारीमा रहेकाले पनि म सँग आउनुभयो । अनिता बहिनीलाई आउन पर्ने केही थिएन । तर, मृत्युसँग जुँधेरपनि उनी आइन् । दिदीले मेरो जीबन जोगाउन छोरीको जीबन समेत जोखिममा पारेको सो क्षण सम्झदा हाम्रो विगतप्रति गर्व लाग्छ ।’ मृत्युसँग जुध्दै गरेको क्षण सुनाउँदै गर्दा उनको मुहारमा भन्दै चमक छायो । मिसन अस्पतालमा डाक्टरले पहिलो वाक्य बोले, ‘भगवान भरोसा ।’ द्वन्दात्मक भौतिकवादमा विस्वास गर्ने कञ्चनका लागि ‘भगवान भरोसा’ले दोहोरो मार हान्यो । नास्तिक दर्शनकी उनलाई विज्ञान पढेर डाक्टर भएकाहरुले समेत भगवानमा भरोसा राखेको देखेर अचम्मित तुल्यायो । सँगै, मृत्युदेखिको डर एक्कासी चुलियो । आरती नाममा भर्ना भएकी उनको रेखदेखमा डाक्टरहरुले कुनै कमी गरेनन् । डाक्टरले तोकेको समयभन्दा पहिले डिस्चार्ज गर्दै भने, ‘अचम्मै भयो । तिमी बाँचौली भन्ने लागेको थिएन । बाँचेपनि पक्षघात हुन्छ भन्ने लागेको थियो । म्यानेन्जाइटिस् बिग्रेपनि तिमी सामान्य अवस्थामा फर्कन सक्यौँ । बधाइ छ ।’ उनीहरु अस्पतालबाट बाहिरिदै गर्दा सेनाको भ्यान प्रवेश ग¥यो । उनको मनमा चिसो पस्यो । उनीहरु हतारमा बाहिरिए । ‘माओवादी भन्ने थाहा भएन । डिस्चार्ज गरेको निकै बेर भइसक्यो, थाहा भएको भए डिस्चार्ज नगरी राख्ने थियौँ ।’ डाक्टरले सेनालाई गरेको विफ्रिङ धेरैपछि उनले पार्टी च्यानलबाट थाहा पाइन् । डाक्टर भर्खरै हो डिष्चार्ज गरेको भनिदिएको भए उनीहरु घेराबन्दीमा पर्ने निश्चित रहेछ । कञ्चनले माओवादी युद्धको विष्लेषण गर्दै भनिन्, ‘युद्ध हामीले लडेका हौँ तर युद्ध नलडेको पंक्तिले पनि युद्धलाई ठूलो सहयोग गरेको हो । अन्यथा जनयुद्धले तिब्रता पाउन सक्दैनथ्यो । वास्तवमा मिसन अस्पतालका डाक्टरको भुमिका कुनै योद्धाको भन्दा कम रहेन । यस्तो भुमिका अव्यक्तरुपमा देशैभरि गैरमाओवादीहरुले निर्वाह गरेका थिए । तसर्थ जनयुद्ध माओवादी भन्नेहरुको मात्र होइन ।’ पार्टीले अर्घाखाँचीमा भीषण आक्रमण गर्‍यो । रोल्पाबाट अर्घाखाँची आक्रमणका लागि फौज आएको थियो । अर्घाखाँची आक्रमण सकेर भारतको गोरखपुर हुँदै कान्छा पर्वत आए । उनीहरु छुटेको झण्डै आठ महिना भइसकेको थियो । हिष्टपुष्ट कञ्चन दाउरोजस्तो भइसकेकी थिइन् । अनुहार सुकेनास लागेजस्तो भएको थियो । पहेलपूर कञ्चनलाई देखेर कान्छा भक्कानिए । कञ्चनले पनि बह थाम्न सकिनन् । काम सकेर छिट्टै फर्कने भन्दै कान्छा २ दिनमै बिदा भए । कान्छाको सहादत
‘सहिद हुन तयार छौँ तर पार्टी र जनताप्रति गद्धारी गर्ने छैनौँ ।’ बिहेका बखत दुबैले गरेको प्रण थियो । यही प्रण सम्झेर उनले प्रेमलाई विदाइको हात हल्लाइन् । प्रेम फर्कदा उनलाई असह्य पीडा भइरह्यो । प्रेम फर्केपछि उनी उरामपोखराबाट भंगेरातर्फ लागिन् । जीबनभन्दा पार्टी ठूलो थियो । विरामी भएपनि उनी सांगठनिक काममा लागिन् । प्रेम आउने खबर आयो । उरामपोखरामा भेट्ने योजना थियो । उनी भंगेराबाट उरामपोखरा जाँदै थिइन् । बीच बाटोमा पार्टीका साथीहरु भेट भए । उनीहरुले कार्यक्रम छ भन्दै अन्तै मोडे । अभिभावक सरहकी पर्वत ईन्चार्ज यशोदा सुवेदीले दुखद खबर सुनाइन् : कमरेड कान्छा र यादव भुसाल सहिद हुनुभयो । कञ्चन मुर्छित भइन् । मृत्यु स्विकार गरेकी कञ्चनले त्यस्तो बेला श्रीमानको निधन सुनेकी थिइन् जतिबेला उनी श्रीमान भेट्न तोकिएको सेल्टरमा जाँदै थिइन् । श्रीमानभन्दा पहिल्यै त्यहाँ पुग्ने र श्रीमानलाई लिएर थप सुरक्षित ठाऊँमा जाने उनको योजना थियो । पर्वत कार्यक्षेत्र भएकाले उनलाई पर्वतको अवस्थाका बारेमा बढी जानकारी हुन्थ्यो । उरामपोखराका यादव भुसाल पार्टीलाई धेरै माया गर्ने शिक्षक पृष्ठभुमीका स्थानीय नेता थिए । पूरानै चिनजान भएकाले कान्छा (प्रेम) उनैको घरमा बास बसेछन् । अवेरसम्म उनीहरु गफिए । खाना खाएपछि अन्यत्रै जाने उनीहरुको योजना गफैगफमा त्यस्तै भयो । विहान झिसमिसेमा सेनाले घेरा हालेछ । यादव र कान्छा दुबै माथि गोली दागिएछ । ‘हामी मरेर भएपछि कान्छालाई जोगाउन पर्छ’, सेनाले घेरा हालेपछि यादवले श्रीमतीलाई भनेका थिए, ‘उहाँ पार्टीको पूँजी हो । जनवादी प्राविधिक प्रयोगशाला खोल्ने योजना छ उहाँको । यत्तिको ज्ञान भएको मान्छ पार्टीमा अर्को सायदै होला ।’ यादवले जोगाउन प्रयास गरेपनि उपाय लागेन । कान्छा आफैँपनि हट्टाकट्टा थिए । केही जवानलाई पल्टाइसकेका थिए । चिप्लिएर लडेपछि उनीमाथि गोली दागिएको रहेछ । शबसमेत सेनाले नै लिएर गएको रहेछ । कञ्चनले कान्छाको मुखसमेत देख्न पाइनन् । भेट्ने योजना बनाएको ३ दिन पहिले अर्थात ०५९ साल कात्तिक २४ गते कान्छा सदाका लागि बिदा भए । पार्टीले कुशल प्राविधिक र फौजी योजनाकार गुमायो भने कञ्चनले व्यक्तिगत जीबनका सपना र जीबनसाथी एक साथ गुमाइन् । कान्छाको सहादतपछि
मृत्यु स्विकार गर्नु र मृत्युलाई भोग्नु विल्कुल फरक हुँदोरहेछ । आफु मर्न जति सजिलै तयार हुन सकिदोरहेछ त्यति नै प्रियजनको मृत्यु भोग्न गाह्रो हुँदोरहेछ । कञ्चनलाई त्यस्तै भयो । तर भावनामा बहकिएर बस्ने छुट युद्धले दिदैनथ्यो । पार्टी कार्यक्रममा जोडिनै पर्ने विवशता र आवस्यकता छँदै थियो । पार्टीप्रतिको आस्थाको बेग झनैं बढ्यो । आफ्नो जीबनसाथीले देखाएको बाटो र आफ्नो जीबनसाथीको रगतले लेखिएको पार्टी भन्ने भावले कञ्चनलाई झनै क्रान्तिकारी बनायो । उनी पर्वतकै फलेवास आसपासमा थिइन् । घरमा कञ्चन सहिद भएको खबर पुग्यो । उनलाई सो बारेमा अत्तोपत्तो थिएन । नियमित सम्र्पकपनि हुँदैनथ्यो । बुढा हजुरबाको मनले कञ्चनको मृत्यु स्विकार गर्न सकेन । उनी घरमा कसैलाई पत्तै नदिइ पर्वत हानिए । पार्टी च्यानलबाट खबर आयो, ‘हजुरबुबा आउनुभएको छ । खबर यस्तो गएको रहेछ ।’ उनी माथि डाँडातिर भएकाले समयमै आउन पाइनन् । फर्किदा हजुरबुबा थिएनन् । कञ्चन जीवितै रहेको खबर पाएपछि हजुरबा खुशी हुँदै फर्किसकेका थिए । कञ्चनलाई हजुरबुबा त्यति गरेर आउँदापनि भेट्न नपाउँदा अहिले पनि थकथकी लाग्दछ । माओवादीको चर्चित चुनवाङ बैठकपछि नेताहरुको कार्यक्षेत्र व्यापक हेरफेर भयो । विद्यार्थी नेता बेनोज अधिकारीको सहादतपछि पूर्वमा विद्यार्थी नेता खटाउन संगठनलाई हम्मे हम्मे परेको थियो । सचिवको भुमिकामा रहेकी कञ्चनमा श्रीमानको हत्याको बदला लिने भाव ताजै थियो । क्रान्तिप्रतिको निष्ठा र प्रतिशोधको सोच, कञ्चनले कठीन मानिएको पूर्वमा आफु जाने प्रस्ताव गरिन् । ‘संगठनको माथिल्लो जिम्मेवारीमा पुगेकी एकमात्र नेतृलाई केही भइहाले ?’ यस्ता प्रश्न पनि उठे । ‘कसै न कसैले जिम्मेवारी बहन गर्नै पथ्र्यो । मैले म जान्छु भनेँ ।’ पूर्वको जिम्मेवारी सम्हादाको अनुभव साट्दै कञ्चनले भनिन् । भुगोल, भाषा र संस्कृति सबैसँग उनी अपरिचित थिइन् । कैयौँ पटक उनी सुरक्षाकर्मीको घेरावन्दीमा परिन् । भाषा र शैली फरक हुँदा उनलाई अरु सहकर्मीलाई भन्दा मुस्किल हुन्थ्यो । अपरिचित भुगोलमा उनी संगठन विस्तार गर्न खटिएकी थिइन् । राजनीतिमा लागेका महिलालाई चरित्रहिनका रुपमा हेर्ने समाजसँग उनले साक्षात्कार गरिन् । उनले संगठित गरेका कैयौँ सदस्य सांसद भइसकेका छन् । विशेष योगदान गरेको भन्दै बार्गेनिङ गरिरहेको भेटिन्छन् । ‘हिजोको त्यो दिन र आजको परिश्थिति देख्दा सपना जस्तो लाग्छ ।’ उनले फेरिएको राजनीतिप्रति तिक्तता व्यक्त गरिन् । सहिद परिवार हुँदाको पीडा
वैवाहिक जीबनको उषाकालमै उनले श्रीमान गुमाइन् । उनी सहिदपत्नी भन्ने पार्टीपंक्तिमा थाहा हुने भइहाल्यो । सहिदको नाममा अनेक भाषण गर्ने नेता नै सहिद परिवारप्रति हलुका भाव राख्ने गरेको उनले नजिकबाट अनुभव गर्न थालिन् । कान्छासँगको बिछोडको घाऊ ओभाइसकेको थिएन, उनलाई विवाह र प्रेमको प्रस्ताव आउन थाले । आफुले नेता र अग्रज ठानेकाले उनीसँग अनेक तरहले प्रस्ताव गर्न थाले । उनको मनमा कुरा खेल्न थाल्यो, ‘सहिद सहिद भन्छन् । व्यवहार चाहीं यस्तो गर्छन । के हामी सही गतिमा छौँ ?’ कतिपय उमेर छिप्पिएका नेता कमरेडबाट सजिलै उनलाई विवाहको प्रस्ताव आउँथ्यो । कसैले घुमाएर प्रस्ताव गर्थे । शीर्ष तहकै नेताले समेत विवाहको प्रस्ताव ल्याउँथे । उनी आफु अपमानित भएको महशुस गर्थिन । पोष्टबहादुर बोगटीलाई उनी पार्टीमा अभिभावक मान्थिन् । उनले अति भएपछि बोगटीसँग बेस्करी रोइन्, ‘सहिदकी श्रीमती हुनुमा मेरो के दोष ? मलाई मानसिक यातना हुने गरी किन प्रस्ताव गरिन्छ ? पार्टीको नीति के हो ?’ युद्धमा छोरा गुमाएका दुई छोरीका बुबा बोगटीले कञ्चनप्रति पितृभाव दर्शाए । बिष्णुसँग पुर्नविवाह
कञ्चनले घर छाड्दा भुराभुरीजस्ता लाग्ने भाइबहिनी ठूला भइसकेका थिए । शान्ति प्रक्रियासँगै उनी घर फर्केर आउँदा ठूलै हर्षबढाईं भयो । मरे बाँचेको समेत थाहा नहुने युद्ध थामिएको थियो । उनको कार्यक्षेत्र पुर्व भएपनि नियमित आऊजाऊ भइरह्यो । उनलाई कान्छाको घर हेर्न धोको थियो । चितवनमा रहेका कान्छाका माइला दाजुसँग उनले ईच्छा व्यक्त गरिन् । उनले त्यो घरमा लिएर गए जुन घरका लागि उनी पूर्णत अपरिचित थिइन् । उनलाई रातभरि निन्द्रा लागेन । छट्पटी भइरह्यो । परिवारको सहज स्विकारोक्तिले उनलाई केही भएपनि राहत भयो । माइलादाइले पृष्ठभुमीसहित विषयवस्तु राखे र माइती बनेर कञ्चनलाई अन्माउन चाहेको बताए । धादिङबाट फर्केपछि पनि उनलाई कान्छाको स्मृतिले छोडेन । उनलाई भने घरपरिवार, आफन्त र पार्टीबाट विवाहका लागि दबाब आइरहन्थ्यो । यस्तैमा कास्कीका नेता विष्णु पौडेलले एक दिन फोन गरे । ‘साथीहरुले तपाईसँग विवाह गर्न सुझाए । परिचित तपाईसँग मैले कोही मार्फत कुरा गर्नुभन्दा सोझै यस सम्बन्धमा छलफल गर्नका लागि फोन गरेको हुँ ।’ विषयवस्तु प्रष्टसँग राख्ने विष्णुको स्वभावसँग कञ्चन पहिले देखि नै परिचित थिइन् । पूर्वमा कार्यक्षेत्र हुनुभन्दा पहिले २०६० सालमा कञ्चन कास्कीको सहइन्चार्ज थिइन् । इलाका इन्चार्ज थिए बिष्णु । उनी बैठकमा योजनासहित प्रस्तुत हुन्थे । सैद्धान्तिकरुपमा पकड राख्थे । कार्यान्वयनको पाटोमा चनाखो रहन्थे । पार्टी कमिटीमा तल्लो तहमा रहेपनि उनको बुझाइ विशिष्ट थियो । सँगै, आचरणको सवालमा बेदागीपनि । बिष्णुको सम्र्पक जनस्तरमा थियो । अन्य पार्टीका सँग पनि उनी सहज संवाद गर्न सक्थे । विष्णुका कारण पनि कञ्चनलाई पार्टीको जिम्मेवारी बहनमा सहज भएको थियो । ‘धेरैको प्रस्तावले म आजित भइसकेकी थिए । विष्णुजीलाई विगतमा नचिनेको भए सायद उहाँसँग म संवादपनि गर्दिनथे । तर, उहाँको परिपक्व शैली र निष्ठाका कारण मैले भेटेर छलफल गरुँला भनेर जवाफ फर्काए ।’ पुर्नविवाहको प्रसंगको संकेत गर्दै उनले भनिन्, ‘मैले उहाँलाई आफ्नो विगतका बारेमा सबै भने । उहाँले थप गर्वान्वित भएको जवाफ फर्काउनुभयो ।’ कुरा अघि बढेपनि विहेको निधो थिएन । कञ्चनले सोचेर जवाफ दिने बताइन् । ‘बिष्णुजीको व्यवहारिक पक्ष र सैद्धान्तिक बुझाइले मलाई छोयो । माथिल्लो कमिटीमा रहेका कैयौँ नेता भन्दा उहाँमा जीबन दर्शनका बारेमा प्रष्ट दृष्टिकोण पाएँ ।’ कञ्चनले बिबाह प्रसंग सम्झदै भनिन् । नेता टोपबहादुर रायमाझीको उपस्थितिमा ०६४ असार १४ गते उनको जनवादी विवाह भयो । अविवाहित बिष्णुसँग विवाह हुँदा घरपरिवारबाट केही सुन्न पर्ने हो कि भन्ने उनलाई धक लागिरह्यो । उनले सासुबाट आमाको जस्तै माया पाइन् । उनले कहिल्यै नराम्रो सुन्नु परेन । विष्णुबाट सदैव सहयात्रीको व्यवहार पाइन् । विद्यार्थीबाट बर्हिगमन
कम्युनिष्ट आन्दोलनमा विशिष्ट स्थान राख्ने जुगेडी, जुटपानीजस्ता संर्घषमा सहभागी परिवारकी सदस्य कञ्चनका लागि राजनीति स्वभाविक थियो । तर, युद्धमा सहभागी हुने, भुमिगत जीबन जिउने तथा संगठनको केन्द्रीय भुमिकामा पुग्ने कुरा एकीन थिएन । माओवादी जनयुद्धले कञ्चनको राजनीतिक र फौजी जीबनको विकास गरायो । माओवादीले युद्ध थाल्दा कञ्चनको राजनीति भर्खर टुसाएको थियो । कञ्चनजस्तै कलिला राजनीतिज्ञको उत्साहजनक सहभागिताले माओवादी युद्ध चाडै नै उचाइमा पुग्यो । १० बर्ष पुग्दा नपुग्दै माओवादी राज्यसँग सरोवरी हैसियतमा शान्ति सम्झौता गर्ने हैसियतमा पुग्यो । शान्ति प्रक्रियामा आएसँगै कञ्चन माओवादीको विद्यार्थी संगठनको उपाध्यक्ष भइन् । लामो समय अध्यक्ष रहेका लेखनाथ न्यौपानेले बिद्यार्थी संगठनबाट बिदा लिने चर्चा चलेसँगै अध्यक्षका लागि कञ्चन स्वभाविक दाबेदार थिइन् । सबैभन्दा माथिल्लो तहमा पुगेकी विद्यार्थी नेतृलाई अध्यक्ष बनाउदा माओवादीको साख बढ्ने तर्क जबरजस्त बनेको थियो । अर्कोतर्फ अध्यक्षका लागि धेरै पुरुष सहकर्मीको दौडधुपका बीचमा कञ्चनको नाम सहमतिको आधार बन्न सक्थ्यो । तर, उनले सम्भावनालाई बिचमै बिट मारिन् ‘बाबु काखमा छ । शान्ति प्रक्रिया जस्तो पेचिलो समयमा सक्रिय नेतृत्व चाहिन्छ । मैले अध्यक्षको दाबी गर्नु उचित हुँदैन ।’ बिद्यार्थीबाट बिदा लिएपछि उनी कास्कीको सहईन्चार्ज भइन् । पार्टीभित्रको अन्तरसंर्घषपनि पेचिलो भयो । पालुङटारलगायतका बहशमा उनले मोहन बैद्यको राजनीतिक प्रस्ताव सापेक्षितरुपमा सही रहेको भन्दै बहश गरिन् । ‘रुपान्तरण अनिवार्य छ । यस्तो तरिकाले पार्टी संसदीय भासमा जान्छ ।’ उनी तर्क गर्थिन । यस्तैमा संविधानसभाको विघठन भयो । असार २, २०६९ मा मोहन बैद्य नेतृत्वको माओवादीले राष्ट्रिय भेला बोलायो । उनी पार्टी विभाजनको विपक्षमा थिइन् । तर, पार्टी विभाजित भयो । रुपान्तरणका लागि फुट अनिवार्य भन्ने बैद्यको तर्कसँग उनी सहमत हुन सकिनन् । नत, रुपान्तरण बिनाको प्रचण्ड नेतृत्वको माओवादीमा रमाउन सकिन् । झण्डैझण्डै उनी पार्टीविहिन अवस्थामा रहिन् । राजनीतिकरुपमा कठीन मोडमा रहेकी कञ्चनका लागि अर्को बज्रपात आइलाग्यो । उनले आफुलाई हरेक मोडमा साथ दिएको एकमात्र भाइ अरुणलाई मोटरसाइकल दुर्घटनामा गुमाइन् । बुबाआमाको विलाप देखेपछि उनलाई भिन्दै पीडा भयो । उनी सरुवा भइ माइती जिल्ला चितवन आइन् । छोरी जन्मिएपछि उनको पारिवारिक दायित्व झनै बढ्यो । संविधानसभाको दोस्रो निर्वाचन
राजनीति जति नै विषाक्त बन्दै गएपनि राजनीतिबाट टाढा हुन सक्ने अवस्था उनको थिएन । उनले जीबन र जोवन नै पार्टीका लागि सर्मपित गरेकी थिइन् । रुपान्तरण सहितको एकीकृत माओवादीका लागि उनले वहश पैरवी गरिरहिन् । तर, बैद्य माओवादीले रुपान्तरणसहितको माओवादी एकताभन्दा एकीकृत माओवादीसँग प्रतिसोध साँध्ने रणनीति बनायो । संविधानसभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बैद्य माओवादीले आन्तरिकरुपमा प्रचण्ड नेतृत्वको माओवादी हराउनका लागि रणनीति बनायो । ‘प्रचण्ड गलत तर काँग्रेस एमाले सही कसरी हुन सक्छन् ? हिजो त्यत्रो रगत बगाएको र बलिदानी गरेको काँग्रेस एमालेलाई जिताउन हो ? मलाई यो प्रश्नले घोचिरह्यो । रुपान्तरण सहितको एकीकृत माओवादी नै उत्तम विकल्प भन्ने ठहरसहित म प्रचण्ड नेतृत्वको माओवादीमा पुनः सक्रिय भएँ ।’ राजनीतिक संक्रमणकाल सम्झदै उनले सुनाइन् । राजनीतिकरुपमा विष्णु र कञ्चनले झण्डै अलग धार समातिसकेका थिए । विष्णु एकीकृत माओवादीमै सक्रिय थिए । बैद्य नेतृत्वको माओवादीले प्रतिसोध नसाँधी क्रान्तिकारी कार्यदिशा समातेको भए कञ्चन बैद्य माओवादीमा सक्रिय रहन्थिन् । संयोगले उनीहरुको राजनीतिक ढुंगा एउटै भयो । २०७० सालको निर्वाचनमा उनलाई पार्टीले उम्मेदवार बनाउने प्रस्ताव गर्‍यो । उनी उम्मेदवार बस्ने र बिष्णुजी समानुपातिक सूचीमा रहने घुमाउरो प्रस्ताव उनलाई ठीक लागेन । उनले विष्णुजी उम्मेदवार हुँदा राम्रो हुने बताइन् । ‘भुगोलमा उहाँको राम्रो पकड थियो । चितवनमा म उम्मेदवार हुँदा चितवन नै कार्यक्षेत्र बनाएर लामो समय काम गरेका साथीहरुलाई ठेस पुग्न सक्थ्यो । मलाई उठाउने भनिएको ठाऊँमा लामो समय सोही क्षेत्रलाई कार्य क्षेत्र बनाएका नेताहरु हुनुहुन्थ्यो । चुनावको मुखमा म उम्मेदवार हुन आइपुगेजस्तो देखिन्थ्यो । मैले साथीहरुको भावनासँग खेल्न उचित ठानिन् । ’ उनले प्रष्टाइन् । पछिल्लो समय उनी चितवनको सहईन्चार्जको जिम्मेवारीमा छिन् । पार्टी कमिटी भद्धा छ । हिजो केही जनाको संगठनले जिल्ला र देश चलायमान बनाउथ्यो । अहिले एउटै जिल्लामा डेड सय केन्द्रीय सदस्य हुँदापनि माओवादी आन्दोलन चलायमान हुन सकेको छैन । ‘प्रचण्डको गतिशिलता माओवादी आन्दोलनको प्राय हो । ठोस र स्पष्ट कार्यदिशा हुँदा प्रचण्ड नेतृत्वमा माओवादी आन्दोलन पुनः जाग्छ ।’ सास रहिन्जेल आस भनेझैँ उनले सार सुनाइन् ।
र, यो पनि– ► ‘मध्यरातमा सर्टको टाँक र बेल्ट खोल्न थालेपछि इन्स्पेक्टरको मुखमा थुकिदिएँ ’ युद्धकालकी चर्चित नेतृको बयान