अन्तरवार्ता

‘बुवाको शरिर अहिले पनि होला, तर हामीले त्यो शरिर नहेर्ने कागजमा हस्ताक्षर गरेका छौं’

शुक्रबार, २१ असोज २०७३ गते मा प्रकाशित

aman-pratap-and-chetra-pratap-nepalaaja

aman-pratap-and-chetra-pratap-nepalaajaतीन वर्ष अघि बुवा बित्नुभयो । हामी दुई छोराले कपाल काटेनौं । किरियामा बसेनौं । बुवाको शव पनि अन्त्येष्टि गरेनौं । १३ दिनसम्म सादगी जीवनशैली अपनायौं । आफन्त, इष्टमित्र भेट्न आउँथे । हामी जुन स्थितिमा थियौं त्यो देखेर धेरैजसो छक्क पर्थे । किनभने हामी अधिकारी क्षेत्री हौं । बुबा क्षेत्रप्रताप अधिकारीको निधन भएपछि काजक्रिया गर्नु स्वभाविक हुन्थ्यो । हामीले गरेनौं त्यो धेरैका लागि अस्वभाविक बनिदियो ।

जसले हामीलाई नजिकबाट बुझेका थिए उनीहरुले नौलो मानेनन् । किनभने बुवाको चाहना नै त्यही थियो कि आफ्नो काजक्रिया, १३ दिनको जुठो, लम्बेतान संस्कारलगायत विधिहरु नगरियोस् । सम्मान जीवीत हुँदै गरिनु पर्छ, मरेपछिको सम्मान र श्रद्धाको कुनै अर्थ हुँदैन भन्ने उहाँको दृढ मान्यता थियो ।

छोराछोरीले बाबुआमाको खुसीका लागि जीवीत हुँदै जे गर्ने हो त्यो गर्नुपर्छ भन्नु हुन्थ्यो । आफ्नै बुवाको उदाहरण दिँदै भन्नु हुन्थ्यो, ‘मेरो बुवाको खुसीका लागि मैले बुवाको १३ दिने क्रियाकर्म गरेँ । तिमीहरुले पनि मेरो खुसीका लागि कुनै क्रियाकर्म नगर्नु । मेरो शरिर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिनू ।’

उहाँले आफ्नो शरिर मरणोपरान्त कसैको काममा आउन सकोस भनेर धरानको शिक्षण अस्पताललाई दान दिनु भएको थियो । त्यो दान दिने सम्झौतापछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुवालाई एउटा कार्ड दिएको थियो । त्यो कार्डले शरिर दान सम्झौता जनाउँथ्यो । बुवा जहाँ जाँदा पनि त्यो कार्ड भने लिएरै जाने गर्नुहुन्थ्यो । बुवाको गोजीमा कार्ड कहिल्यै छुटेन । कहिँ कतै जाँदा फ्याट्ट श्वास गयो भने मानिसहरुले झुक्किएर शरिर नजलाउन र कार्ड हेरुन भन्ने सजगता थियो त्यो ।

काजक्रिया नगर्ने भनेपछि मानिसहरु उहाँ नास्तिक हुनुहुन्थ्यो कि भन्ने सोच्दछन् । उहाँ भगवानको आरधना गर्नु हुन्थ्यो । पशुपतिनाथ दर्शनका लागि गइरहनुहुन्थ्यो । उहाँ व्राम्हणहरुको पनि सम्मान गर्नु हुन्थ्यो । तर ब्राम्हणवाद र केही संस्कारको विरोधी हुनुहुन्थ्यो । धर्मले सिकाए भन्दा पृथक भएर आफ्नो अनुकुल हुने गरी लादिएका संस्कार मन पराउनुहुन्न थियो ।

जब बुवाको निधन भयो, त्यसपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले शव लिएर गए । हामीले शव बुझाएको कागजपत्रमा हस्ताक्षर गर्यौं । त्यहाँ भएका केही शर्त मध्ये एउटामा –हस्तान्तरण गरिसकेपछि हामी सन्तानले फेरि त्यो शव कहिल्यै पनि हेर्ने छैनौं भन्ने पनि छ । अर्थात एक पटक बुवाको शव अस्पतालाई दिइसकेपछि अब हामीले त्यो शव हेर्न मिल्दैन । हामीले हेर्ने चाहना पनि राखेका छैनौं । हस्तान्तरण गर्ने बेलामै पशुपतिमा अन्त्येष्टि गरे जस्तै हो भन्ने सोचेर दिएका थियौं ।

पुरेतले कूलपूजामा रोके

हामी तनहुँका अधिकारी हौं । कूलपूजा तनहुँमै हुने गर्छ । कूलपूजामा हामी पनि सहभागी हुन्थ्यौं । बुवाको देहान्त पछि कूलपूजामा आउने खबर पठायौं । तर कूलपूजाका पुरेतले हामीलाई रोके । उनले पाँच दिन भए पनि बुबाको किरिया नगरि हुँदैन भन्ने अडान लिए । पाँच दिनमा ती सबै संस्कार पूरा गर्नु पर्छ भन्ने पुरेतको भनाइ थियो । बुवाको चाहनाकै कारण हामीले पहिले नै १३ दिनको क्रियाकर्म गरेका थिएनौं । कूलपूजामा सरिक हुन त्यो विधि पूरा गर्नु पर्ने भनियो । जुन ब्राम्हणवादको विरोध गरेर १३ दिनको काम नगरिएको थियो, त्यही काम अर्का एक ब्राम्हणले नगरी हुँदैन भनिरहेका थिए । हामीले स्वीकार गरेनौं । कूलपूजामा गएनौं ।

जीवनका सारथीहरु

मान्छेले जीवनमा धेरै इष्टमित्र बनाउँछ । आफन्तहरु पनि धेरै हुन्छन् । तर हरेक मानिसको जीवनलाई नजिकबाट नियालेर हेर्दा थाहा हुन्छ एउटा मान्छेलाई साथ दिन २–४ जना मात्रै हुन्छन् । चार जना मान्छे होऊन् जो वास्तवमै आफ्नो होऊन् । यति भए जीवन कट्छ । कूलपूजामा जसले हामीलाई सहभागी हुनबाट रोके ती मानिसहरु कहिले पनि हाम्रो दुःखमा सरिक हुँदैनन् । ‘कठैबरा’ भन्नेहरु जीवनमा काम लाग्दैनन् । जीवन भोगाईले सिकाएको यो तितो सत्य हो ।

नेपाली साहित्यमा आफ्नो स्थान बनाउनु भएको थियो बुवाले । बुवाले लेखेका गीतहरु अहिले पनि रेडियो टिभीमा गुञ्जीरहन्छन् । राजनीतिले उहाँलाई मन्त्री बनायो । बुवाको सोच निश्चय पनि फरक थियो । उहाँ आम मान्छे भन्दा केही फरक अवश्य हुनुहुन्थ्यो । आफ्नो शरिर नै शिक्षण अस्पतालाई दान दिने निर्णय ठीक थियो भनेर पनि मानिसहरुले सोध्ने गर्छन् । मेरो अन्तरआत्माले भन्छ त्यो निर्णय ठीक थियो । किनभने बुवाले आजीवन शिक्षालाई सर्वोपरी ठान्नुभयो । शिक्षा नै विकासको आधार हो भन्नुभयो । अन्तिममा आफ्नो शरिर पनि चिकित्सा शिक्षाका विद्यार्थीलाई अध्ययनका लागि दिनुभयो ।

(साहित्यकार स्वर्गीय क्षेत्रप्रताप अधिकारीका पुत्र अमनप्रताप अधिकारीसँग गरिएको कुराकानीका आधारमा ।)